Price of fuel raised Again: Nepal Oil Corporation Increases Petrol, Diesel Rates by Rs. 15 per Liter
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य वृद्धि र बढ्दो घाटाका कारण पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १७९ रुपैयाँ ५० पैसा, १८१ रुपैयाँ र १८२ रुपैयाँ निर्धारण गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घरेलु बजारमा पनि मूल्य समायोजन गर्नुपरेको जनाएको छ। मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यका आधारमा लागत बढेको निगमले स्पष्ट पारेको छ।
मूल्य वृद्धि गरेपछि पनि निगम घाटामा रहेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४७ रुपैयाँ १२ पैसा र डिजेलमा १३३ रुपैयाँ ४५ पैसा घाटा भइरहेको छ। त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको छ।
निगमले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको जनाएको छ। अन्तर्राष्ट्रिय मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसक्दा घाटा बढ्दै गएको निगमको भनाइ छ।
घाटा निरन्तर बढिरहेमा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न समस्या हुन सक्ने चेतावनी दिँदै निगमले उपभोक्तालाई संयमित रूपमा इन्धन प्रयोग गर्न आग्रह गरेको छ।